ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझण्डा देखाउने ९ जना पहिचानवादी पक्राउ परेका छन् । कोशी नाम खारेज गरी प्रदेश १ को पुन: नामाकरण गर्न माग गर्दै आन्दोलित ९ जना पहिचान पक्षधर नेताहरु पक्राउ परेका हुन् ।
जिल्लामा नवनिर्मित वीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताहरुले स्वर्गिय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीहरुले नारा जुलुस गर्दै कालोझण्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए । त्यस लगत्तै प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दिपेन्द्र रुम्दाली, किरात राई यायोक्खाका केन्द्रिय महासचिव भिम राईसहित रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, ईन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दिपक केसीले बताए । कार्यक्रम बिथोल्न र नेताहरुलाई कालोझण्डा देखाउन थालेपछि पक्राउ गरिएको उनको भनाइ छ ।

पहिचानपक्षधरले जिल्लामा आउने दलका नेतालाई निरन्तर अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया