मंशिर २६ गते हर्कपुरमा एमालेको विशाल जनसभा हुने

मंशिर २६ गते हर्कपुरमा एमालेको विशाल जनसभा हुने


भिजन समाचार
1.1k
Shares

झुलाघाट–चिवाभन्ज्याङ्ग मध्यपहाडी लोकमार्ग (पुस्पलाल मार्ग) पदयात्रा अभियान अन्तर्गत ओखलढुंगाको टोक्सेल हर्कपुरमा विशाल आम जनसभा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ शुरु गरेको छ ।
उक्त यात्रा अन्तर्गत मंशिर २६ गते मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा विशाल आम सभा हुने भएको हो । यात्रा टोली सोहि दिन उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुर आइपुग्ने नेकपा एमाले ओखलढुंगा अध्यक्ष शंकर कटुवालले जानकारी दिए ।
शनिबार पार्टीको बैठक बसेर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन तयारी थालिएको अध्यक्ष कटुवालको भनाई छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघ ओखलढुंगाले ५०० स्वयंसेवक परिचालन गर्ने निर्णय भएको जनाएको छ ।
एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा मंशिर १४ गते बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका थिए । यस अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालिएको बताएका छन् । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।
झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्यपहाडी लोक मार्गमा तीन सातासम्म चल्ने छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब १,८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने नेकपा एमालले जनाएको छ ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ । यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्शाउने बताइएको छ ।