जिल्लाको मोलुङ गाउँपालिका–६ मंशिरेमा भएको आगलागीमा परि १५ महिने बालकको ज्यान गएको अनुमान गरिएकाे । आगलागीमा परि मंशिरेका कर्मा शेर्पाका १५ महिने छोरा फुर्वा शेर्पा बेपत्ता भएका थिए । उनको खोजी गर्दा आगोले जलेको अवस्थामा एक टुक्रा मासुको डल्लो फेलापरेको थियो । उक्त जलेको मासुको टुक्रा सोहि बालकको शव रहेको बताईएको छ ।
आगलागी भएकाे स्थलमा फेला परेको मासुको टुक्रा जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारमा परिक्षण गर्दा साेही बालककाे शव रहेकाे चिकित्सकले अनुमान गरेकाे तर थप स्पष्ट गर्न डीएनए परिक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाईने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए । बेपत्ता भएका बालक कतै फेला परेका छैनन् ।
बुधबार दिउसो कर्मा शेर्पाका अर्का तीन वर्षिय छोरा मिङ्मार शेर्पाले खेलाएको लाइटरबाट घरमा आगलागी भएको थियो । कर्मा शेर्पा र उनकी श्रीमती घरमा नभएको समयमा मिङ्मारले लाइटर खेलाउदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घरमा शेर्पाका दुई छोराहरु मात्र भएको समयमा आगलागी भएको प्रहरी निरिक्षक सिंहको भनाई छ ।
आगालगीबाट शेर्पाको ढुङ्गा माटोले बनेको, ढुङ्गाको छाना भएको दुई तले घर, घरमा रहेको काठपात, भाँडा वर्तन, अन्नपात, लत्ता कपडा जल्दा करिब १५ लाख भन्दा बढीको धनमाल क्षती भएको बताईएको छ । ओगलागी पीडित परिवारलाई गाउँपालिकाले खाद्यन्न तथा बन्दोबस्तीका सामाग्री उपलब्ध गराएको छ ।
प्रतिक्रिया