पूर्व अरनिको यातायातले ओखलढुंगा सदरमुकाम देखी काठमाण्डौ यातायात सेवा प्रारम्भ गरेको छ । मंगलबार सदरमुकाममा उद्घाटन कार्यक्रमको आयोजना गरी पूर्व अरनिको यातायातले औपचारिक रुपमा सेवा शुभारम्भ गरेको हो ।
अरनिको यातायात सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सुरक्षित, भरपर्दो र सेवामा उत्कृष्ट हुन आग्रह गरेका छन् । अपंगता भएका व्यक्ति, जेष्ठ नागरिक र बालबालिकालाई सहुलियत यात्राको व्यवस्था सहित सेवा प्रभावकारी बनाउन मेयर खनालले बस सञ्चालक समितिलाई सुझाव दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सुरक्षित र गुनासो रहित सेवा प्रदान गर्न सुझाव दिएका छन् ।
यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले ट्राफिक नियमको उल्लंघनका कारण सवारी दुर्घटना बढ्ने भएकाले ट्राफिक नियमको पालनालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा यात्रु तथा सरोकारवालाहरुले लक्षित वर्ग लाई छुट सहुलियतको व्यवस्था कार्यान्वयन गर्न, तोकिएको भन्दा बढी भाडा नलिन र प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।
कार्यक्रममा पूर्व अरनिको यातायातका अध्यक्षमा केदार क्षेत्रीले यातायात क्षेत्रको सुधारका लागि पूर्व अरनिको यातायातले सकारात्मक कार्यको थालनी गरेको जानकारी दिएका छन् । गुनासो बिहिन सेवा प्रदान गर्नु पहिलो प्राथमिकता रहेको क्षेत्रीको भनाई छ ।
पुर्व अरनिकोले सिद्विचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिका, चिशंखुगढी र मोलुङ गाउँपालिका बाट सिधै काठमाण्डौ सम्म बस सेवा सुरु गरेको छ । जिल्लाका चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिका बाट यस अघिनै पुर्व अरनिको बस सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया