ओखलढुंगा प्रहरीले ६८ औँ प्रहरी दिवस विविध कार्यक्रम गरि मनायो

ओखलढुंगा प्रहरीले ६८ औँ प्रहरी दिवस विविध कार्यक्रम गरि मनायो



जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले विविध कार्यक्रम गरि ६८ औँ प्रहरी दिवस मनाएको छ । एक महिना सम्म दिवसको अवसरमा ओखलढुंगा प्रहरीले विभिन्न कार्यक्रम गरेको थियो । दिवसको अवसरमा भलिबल खेल प्रतियोगिता, ५ कि.मी. दौड, ब्याडमिटन प्रतियोगिता, वृक्षारोपण, सरसफाई लगायत जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।
मंगलबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अमर प्रहरी स्मारकमा पुष्प हार अर्पण गरि शोक सलामी अर्पण गरिएको थियो । यस्तै अमर प्रहरी परीवारका तीन जनालाई सम्मान गरियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तथा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लामा शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम राख्न प्रहरीको भूमिका महत्वपुर्ण रहेकोले आगामी दिनमा थप प्रभावकारी कार्यसम्पादनको लागि निर्देशन दिए । पुरस्कृत हुने गरि काम गर्न प्रजिअ बरालले प्रहरी युनिटहरुलाई पनि निर्देशन दिएका छन् ।

पछिल्लो समय सवारी भाडादरबारे गुनासो बढीरहेकोले यसबारे प्रभावकारी अनुमगन गरि सरकारले तोकेभन्दा बढी भाडा लिएको पाइएमा तत्काल कारबाही गर्न प्रजिअ बरालले ओखलढुंगा प्रहरीलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दिपक बहादुर कसीले प्रहरी दिवसलाई कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्मान र सम्झना गर्ने दिनको रुपमा लिइने गरिएको बताएका छन् ।
प्रहरीको एक्लो प्रयासले मात्र समुदायमा अपराध नियन्त्रण, सुशासन र शान्ति सुरक्षा कायम राख्न चुनौति हुने भएकाले प्रहरीलाई सबैको सहयोग महत्वपूर्ण हुने उनको भनाई छ ।

दिवसको अवसरमा निबन्ध तथा खेलकुद प्रतियोगिताका विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी बराल दुर्गा वक्स गण ओखलढुंगाका गणपति प्रेम बहादुर गिरी तथा जिल्ला प्रहरी प्रमुख केसीले पुरस्कार हस्तान्तरण गरेका छन् ।
दिवसकै अवसरमा उत्कृष्ट प्रहरीलाई नगद पुरस्कार, प्रहरी सन्तति मध्येका उत्कृष्ट जेहेन्दार विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
भलिबल, ५ कि.मी. दौड, ब्याडमिटन लागयतका प्रतियोगिताहरुमा विजेताहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।