सभापती खतिवडाले दिए कैदीबन्दीलाई खसी उपहार

सभापती खतिवडाले दिए कैदीबन्दीलाई खसी उपहार



राज्य व्यवस्था तथा सुशासन समिति सभापती एवम् नेपाली काँग्रेसका संघीय सांसद रामहरी खतिवडाले कैदबिन्दीलाई खसी उपहार दिएका छन् । खतिवडाले विजया दशमीको अवसरमा ओखलढुंगा कारागारमा रहेका कैदीबन्दीलाई खशी उपहार दिएका हुन् ।
सोमबार खतिवडाले कारागारका नाइके हुकुम सिंह कटवाललाई खसी हस्तान्तण गर्दै सम्पुर्ण कैदीबन्दीलाई दशैको शुभकामना दिएका छन् ।

नेपाली काँग्रेसका संघिय सांसद तथा सभापती खतिवडाले कारागार पछिको जीवन एक उदाहरणीय रूपमा बिताउन कैदीबन्दीलाई सुझाब दिएका छन् । संघिय सांसद खतिवडा समक्ष कारागारका निमित्त जेलर प्रमुख नरेन्द्रलाल कर्णले कारागारमा क्षमता भन्दा दोेब्बर बढी कैदीबन्दी हुँदा समस्या रहेको जानकारी गराएका छन् ।
बजेट अभावका कारण नयाँ बनेको महिला कारागार भवनको वरिपरि सुरक्षा पर्खाल लगाउन नसकिएको कर्णले जानकारी गराएका छन् । कारागारमा शौचालयको समस्या रहेको नाईके कटवालले जानकारी गराएका छन् ।
शौच गर्नका लागि कैदिबन्दीहरु विहान २ बजे देखी लाईनमा बस्नु पर्ने बाध्यता रहेको कटवालले गुनासाे गरे । कारागारमा रहेको समस्या समाधानका लागि आफुले पहल गर्ने राज्य व्यवस्था तथा सुशासन समितिका सभापती बताए । ३० जनाको क्षमता रहेको कारागारमा हाल छ जना महिला र ७५ जना पुरुष गरि ८१ जना कैदीबन्दी छन् ।