ओखलढुंगाको मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यबहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा ओखलढुंगा जिल्ला अदालतले दोसी ठहर गर्दै सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई एक वर्ष कैद सजायको फैसला सुनाएको हो ।
ओखलढुंगा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० असोज १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कटवाललाई कैद सजायसँगै २५ हजार रुपैयाँ जरिबाना र ४० हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विनाेद प्रसाद घिमिरेले बताए ।
मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख समेत रहेका कटवालले ०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध ०८० वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ २ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८० जेठ २३ गते बाल यौन दुव्र्यवहारमा मुद्दा चलाइएको थियो ।
प्रतिक्रिया