ओखलढुंगमा सोमबार देखी विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार लागयतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको हो ।
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका सबै प्रहरी युनिटमा सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए ।
चाडपर्वमा हुनसक्ने सम्भावित घटना, दुर्घटना तथा अपराधिक गतिविधि रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त मजबुत बनाउन विशेष सुरक्षा योजना बनाएर लागु गरिएको प्रनाउ केसीको भनाई छ ।
यसका साथै चार्डपर्वहरूलाई लक्षित गरि जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको प्रनाउ केसीले जानकारी दिनुभयो । सदरमुकामको रमाइलोडाँडा, मिलनचोक र मानेभन्ज्याङको हर्कपुरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
सडक सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन, सवारी चालक, यातायात व्यवसायी र आम सर्वसाधारणमा सहजताको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक केसीले बताए ।
चाडपर्वमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यस्ता गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत ओखलढुंगा प्रहरी प्रमुख प्रनाउ केसीले आग्रह गरेका छन् । घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया