ओखलढुंगामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

ओखलढुंगामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन



ओखलढुंगामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको हो ।
असोज २१ गते आईतबार देखि आगामी मंशिर ३ गतेसम्मका लागि सुपथ मुल्यको पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगाका निमित्त शाखा प्रमुख नरेन्द्र शर्माले बताए । उक्त पसलमा विशेष गरी चामल सुपथ मुल्यमा पाईने शर्माले जानकारी दिए ।
जिरा मसिनो स्टिम चामलमा प्रति केजी सात रुपैयाँ छुट दिइने छ । अहिले प्रति केजी ८७ रुपैयाँ बजार भाउ रहेको चामल सहुलियतमा ८० रुपैयाँको दरले विक्री गर्दा २५ केजीको एक बोराको सहुलियत पसलमा दुई हजार मात्रै पर्ने शाखा प्रमुख शर्माको भनाई छ ।
खाद्य संस्थानमा सञ्चालन गरिएको सहुलियत मुल्य पसलको प्रभावकारी कार्यान्वयन भए–नभएको विषयमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको मार्फत अनुगमन समेत हुने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।