अस्पतालको लापरबाहीले शिशुको मृत्य भएको भन्दै आफन्तले विरोध गरेका छन् । ओखलढुंगा सामुदायिक अस्तपालको लापरबाहीका कारण शिशुको ज्यान गएको जनाउदै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे ज्यान गएको थियो । अस्पतालको लापरबाहीका कारण शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध जनाएका हुन् ।
पिसाब रोकिएर सिकिस्त विरामी भएपछि शुक्रबार विहान आफन्तले शिशुलाई ओखलढुंगा सामुदायिक अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याएका थिए । शिशुलाई सामान्य चेकजाँच पनि नगरीे चिकित्सकले बहिरंग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालले बताए ।
बहिरंग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गराउदा विभागका चिकित्सकले पुनः इमर्जेन्सी कक्षमै राखेर उपचार गर्न भनेपछि इमर्जेन्सी कक्षमा लगिएको दाहालले बताए । ‘इमर्जेन्सी कक्षमा पु¥याउदा बच्चाको स्वासप्रस्वासमा गम्भिर समस्या भईसकेको थियो’ दाहालका आफन्त देबकुमार दाहालले बताए । उपचारका लागि समयमै अस्पताल ल्याइएको भएपनि अस्पतालको लापरबाहीले शिशुकाे ज्यान गएको दाहालको भनाई छ ।
मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकहरुमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने लगायतका माग राख्दै विरोध जनाएका छन् ।
अस्पतालका निर्देशक डा.रोशन खरेलले यस बिषयमा प्रशासनमा छलफल भइरहेको र छानबिनको तयारी भइरहेको जानकारी दिए । अस्पताल प्रशासन, मृतक शिशुका आफन्त, प्रहरी र सरोकारवालाहरुबीच छलफल भईरहेको डा.खरेलको भनाई छ ।
प्रतिक्रिया