देशभरका जिल्ला प्रशासन मध्ये जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्टको सूचीमा परेको छ । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मूल्याङ्कनकाे आधारमा ९०.६४ प्रतिशत अंक प्राप्त गर्दै अति उत्कृष्टको सूचीमा परेको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच हरेक वर्ष हुने कार्यसम्पादन सम्झौताको कार्यान्वयनको मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विभिन्न सूचकहरूको आधारमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगा ३० औं स्थानमा परेको छ ।
आगामी दिनमा सर्वोत्कष्ट बनाएर एक नम्बरमा ल्याउने गरि आफुले कार्यसम्पादन गर्ने याेजना रहेकाे प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, बजार अनुगमन, विपद जोखिम न्यूनीकरण र मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्य सम्पादन मूल्यांकन हुने गरेको प्रमुख जिल्ला अधिकारी बरालको भनाई छ ।
कार्य सम्पादनमा देशैभरबाट गुल्मी पहिलो, रुकुम पश्चिम दोस्रो र जिल्ला प्रशासन कार्यालय रुपन्देही तेस्रो भएको छ । जिल्ला प्रशासन कार्यालय सिराहा भने ६१.५६ प्रतिशत अंक प्राप्त गर्दै आर्थिक वर्ष २०७९/०८० को मूल्यांकनमा ७७ औ नम्बरमा पर्दै अन्तिम भएको छ ।
प्रतिक्रिया