जिल्ला अदालतमा पहिलो पटक भिडियो मार्फत साक्षी बकपत्र

जिल्ला अदालतमा पहिलो पटक भिडियो मार्फत साक्षी बकपत्र



ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतमा पहिलो पटक ‘भिडियो कन्फरेन्स’ मार्फत साक्षी बकपत्र गराइएको छ । जिल्ला अदालतमा भाद्र २५ गते पहिलो पटक श्रव्यदृश्य संवाद अर्थात (भिडियो कन्फरेन्स) मार्फत साक्षी बकपत्र गराइएको हो ।
ओखलढुंगा जिल्ला अदालतमा जारी हाडनाता जबरजस्ती करणी सम्बन्धी मुद्दामा साक्षी बुझ्ने आदेश भएकोमा पीडित उपचारका लागि ललितपुरको पाटन अस्पतालमा रहेकोले ‘भिडियो कन्फरेन्स’ मार्फत साक्षी बकपत्र गराइएको अदालतका तहसिलदार तथा सूचना अधिकारी प्रमोद रिजालले जानकारी दिए ।
पीडित जिल्ला अदालतमा हाजिर हुन नसक्ने अवस्थामा भएकाले श्रव्यदृश्य संवाद मार्फत साक्षी बुझ्ने काम भएको उनको भनाई छ ।
यो सँगै जिल्ला अदालतमा पनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १०९ बमोजिम गम्भीर अवस्थामा श्रव्यदृश्य मार्फत साक्षी बकपत्र लगायतका सेवा प्रदान गरिने सूचना अधिकारी रिजालले जानकारी दिए ।
शारीरिक अशक्तता तथा असक्षमताको अवस्थामा यो व्यवस्था मार्फत न्यायीक सेवा प्रवाह हुने साथै न्यायमा पहुँच बढ्ने ओखलढुंगा जिल्ला अदालतले जनाएको छ ।