ओखलढुंगामा आत्महत्या न्युनिकरणको लागि सरोकारवालाबिच छलफल भएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित सरोकारवाला बिच आत्महत्या रोकथामबारे अन्तरक्रिया भएको हो ।
सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाको आयोजना, ओखलढुंगा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य परियोजना कार्यक्रम र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको समन्वयमा आइतबार सिद्धिचरण नगरपालिकामा भएको अन्तरक्रियामा आत्महत्या रोकथामको लागि अपनाउनुपर्ने सावधानी र फैलाउनुपर्ने सचेतनाका बिषयमा छलफल भएको थियो ।
कतिपय आत्महत्याका घटना बिषादी सेवनका कारण भएको तथ्यांक रहेकोले जथाभावी बिषादी बिक्री गर्न नपाइने व्यवस्थालाई कडाईका साथ लागु गर्ने छलफलबाट निर्णय भएको ओखलढुंगा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य विभाग प्रमुख अम्बिका पुलामी मगरले बताइन् ।
बैठकमा जिल्लाका एग्रोभेट व्यवसायीले पनि कानुन अनुसार बिषादी बिक्री गर्नेबारे सहमति भएको छ । यस्तै किराना पसल, हार्डवेयर र पुस्तक पसलले पनि बिषादी बेचेको पाइएकोले अनुगमन गरेर नियमन गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।
यस्तै मानसिक रोगीले सेवन गर्ने औषधि स्वास्थ्य संस्थाहरुमा पर्याप्त नहुँदा पनि आत्महत्यादर बढ्न सक्ने भएकाले ति प्रकारका औषधिको पर्याप्त व्यवस्था गर्ने र विद्यालय तथा समुदायमा सचेतनालाई जोड दिने निर्णय भएको पुलामीले बताइन् ।
अन्तरक्रिया कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उप प्रमुख केदारबाबु बस्नेतले सचेतनाले पनि धेरै हदसम्म आत्महत्या रोकथाम गर्न सकिने बताए । विद्यार्थी र समुदायस्तरमा सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव थियो ।
मानसिक रोगका बिरामीले सेवन गर्ने औषधिको अभाव हुन नदिने उनले प्रतिवद्धता जनाएका छन् । जिल्लामा केहि बर्षयता आत्महत्यादर घटेको प्रहरी तथ्यांकले देखाएको छ ।
अन्तरक्रिया कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उप प्रमुख बस्नेत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख डा. सुशील कुमार अधिकारी, कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत टिका बानिया, जनप्रतिनिधि, नगरपालिका स्वास्थ्य शाखा प्रमुख पवन लामा, एग्रोभेटका सञ्चालकलगायत सरोकारवालाको सहभागिता थियो ।
प्रतिक्रिया