ठुलाछापमा सहासको वडा स्तरीय मूल समिति गठन

ठुलाछापमा सहासको वडा स्तरीय मूल समिति गठन


भिजन समाचार
3.8k
Shares

ओखलढुंगाको ठुलाछापमा सहास नेपालको वडा स्तरीय मूल समिति गठन भएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालले सिद्धिचरण नगरपालिका– २ ठुलाछापमा ब्रेड फर द वल्र्ड जर्मनीको सहयोगमा सञ्चालित स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण (लिफ्ट) परियोजना अन्तरगत वडा स्तरीय मूल समिति गठन गरेको हो ।

समूहको नेतृत्व गर्दै सामुदायिक विकासमा जोड दिने उद्धेश्यले होम बहादुर वि.क.को अध्यक्षतामा ११ सदस्यीय जानुकागढी मूल समिति गठन गरिएको लिफ्ट परियोजना अधिकृत देबेन्द्र लामा थिङले जानकारी दिए ।

कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिद्धिचरण नगरपालिका–२ का वडा अध्यक्ष बसन्त कट्वालले सहासले किसानहरुको हितका लागि विभिन्न कार्यक्रम गरिरहेको भन्दै सहासको कामको प्रशंसा गरेका थिए ।

वडा स्तरीय मूल समितिले आगामी दिनमा सामुदायिक विकासमा सक्रिय भएर अघि बढ्ने विस्वास व्यक्त गर्दै उनले स्थानीय सरकार सहयोग र सहकार्यका लागि सँधै तयार रहेको बताएका छन् ।

कार्यक्रममा वडा सदस्य रमा परियार, विभिन्न समूहका सदस्य र सहास नेपालका कर्मचरीको उपस्थिति रहेको थियो ।

सहास नेपालले सिद्धिचरण नगरपालिकाका वडा नं. १,२,३,६ र ९ मा समूह मार्फत् कृषि, पशुपालन, स्वास्थ्य, पोषण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण, महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ ।