ओखलढुंगा । पछिल्लो २४ घण्टामा ओखलढुंगामा ९७.६ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ओखलढुंगाका प्रमुख अनिल पराजुलीका अनुसार पछिल्लो २४ घण्टामा ९७.६ मिलिमिटर बर्षा भएको हो । विगतका दिन भन्दा पछिल्लो २४ घण्टामा धेरै बर्षा भएको पराजुलीको भनाई छ ।
वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरुमा बाढी पहिरो जान सक्ने भएकाले सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले अनुरोध गरेको छ । दुधकोशी नदीले रबुवाबजार बाढीमापन केन्द्रको तथ्याङ्क अनुसार जलसतह सतर्कता तह पार गरेको छ ।
सुनकोशी नदीमा पानीको बहाब बढेको छ । मोलुङ खोला, लिखु नदी लगायत अन्य साना तथा ठुला नदी खोला आसपासमा बसोबास गरिरहेका नागरिकलाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
यसका साथै उदयपुर, सिन्धुली र धनुषाको तटिय क्षेत्रलगायत डुबान भईरहने होचा ठाउँहरुमा विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया