डेंगु र आँखा पाक्ने रोगप्रति विद्यार्थीहरुलाई सचेतना फैलाउन शैक्षिक संस्थाहरुलाई आग्रह गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख नेत्र प्रसाद गजुरेलले डेंगु, आँखा पाक्ने रोग र झाडापखालाबारे सचेतना सहित शैक्षिक गतिविधि सञ्चालन गर्न जिल्लाका विद्यालय तथा शैक्षिक संस्थाहरुलाई आग्रह गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई डेङ्गी र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन मातहतका निकायलाई आग्रह गरेकोले विद्यालयहरुलाई त्यसै अनुसार गर्न आग्रह गरिएको उनको भनाई छ ।
डेङ्गी र आँखा पाक्ने रोग फैलिरहेकोले शिक्षक, विद्यार्थी र कर्मचारीलाई चनाखो रहन इकाई प्रमुख गजुरेलले आग्रह गरे ।
यी रोगको लक्षण, रोकथामका उपाय र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमबारे सचेतना जगाउनका लागि सही तथा सान्दर्भिक जानकारी प्रदान गर्न आवश्यक रहेको उनको भनाई छ ।
शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनलाई निरन्तरता दिनका लागि डेङ्गी र आँखा पाक्नेसम्बन्धी रोगबारे सतर्कता र सचेतनामा जोड दिन कार्यालयले आग्रह गरेको छ ।
जिल्लाका केहि विद्यालयले भने सचेतनाका कार्यक्रम सुरु गरेका छन् । बुधबार मात्रै मोलुङ गाउँपालिका–२ टेकानपुरको ग्रामोदय आधारभूत विद्यालयले प्रोजेक्टर मार्फत डेंगी र आँखा पाक्ने रोगबाट बच्नेबारे सन्देशमूलक भिडियो सामाग्री प्रदर्शन गरेर विद्यार्थीहरुलाई सचेत गराएको छ ।
डेंगी र आँखा पाक्ने रोग बाट जोगिन अपनाउनु पर्ने सावधानीका बारेमा विद्यालयका बिद्यार्थीलाई जानकारी गराईएको प्रधानाध्यापक सिताराम दाहालले बताए ।
जिल्लाका अन्य विद्यालयले पनि यस किसिमको सचेतनामूलक कार्यक्रमलाई जोड दिँदै शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया