ओखलढुंगामा केही दिनदेखि आँखा पाक्ने रोगका बिरामीको संख्य बढेको छ । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग जिल्लामा पनि फैलिएको हो ।
समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दा केन्द्रमा आँखा रोगीको चाप बढेको जिल्ला सामुदायिक आँखा केन्द्र इन्चार्ज टिका राईले बताइन् । दैनिक ६-७ जनाको हाराहारीमा आँखा पाक्ने रोग सम्बन्धि समस्याका बिरामी केन्द्रमा आउने गरेको उनको भनाई छ । उनका अनुसार यो रोगका कारण शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गर्दछ । सुरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन केन्द्र प्रमुख राईको सुझाव छ ।
बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधी प्रयोग गर्न हुँदैन । आँखा केन्द्रमा जँचाएर मात्र औषधिको प्रयोग गर्न केन्द्रले आग्रह गरेको छ ।
प्रतिक्रिया