ओखलढुंगामा साउन २६ र २७ गते माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि हुने भएको छ । शैक्षिक सत्र २०७९ सालको एसईईको ग्रेडवृद्धि परीक्षा जिल्लामा साउन २६ र २७ गते हुने भएको हो ।
परीक्षाका लागि साउन २० गतेसम्म विद्यालयहरुले ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीको फारम पेश गरिसक्नुपर्ने र २४ गतेसम्म विवरण प्रविष्ट गरेपछि परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख नेत्र प्रसाद गजुरेलले बताए ।
गत असार २१ गते सार्वजनिक नतिजामा ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड ल्याउने विद्यार्थीले दुई वटा विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने उनको भनाई छ । यस बर्ष सगरमाथा जनता माध्यमिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको इकाई प्रमुख गजुरेलले जानकारी दिएका छन् ।
केन्द्राध्यक्ष पनि सजमाविकै प्रधानाध्यापक डिल्लीराम कार्कीलाई तोकिएको उनले बताए ।
शैक्षिक सत्र २०७९ को एसईई परीक्षामा जिल्लाका दुई हजार पाँच सय ९२ जना विद्यार्थी सहभागी भएका थिए । जसमा सि प्लस ल्याउने विद्यार्थीको संख्या धेरै थियो ।
यो बर्ष ग्रेडवृद्धि गर्न चाहने एक हजार दुई सय बढी विद्यार्थीले परीक्षा दिने अनुमान गरिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया