ओखलढुंगा । उच्च अदालत विराटनगर अस्थायी ईजलास ओखलढुंगामा एक आर्थिक बर्षमा यौनजन्य घटना दर उच्च देखिएको छ । उच्च अदालतमा दर्ता हुन आएका विभिन्न प्रकृतिका २६४ मुद्दा मध्ये १०८ वटा यौनजन्य घटनाका छन् ।
अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार जबरजस्ती करणीका ५८, जबरजस्ती करणी उद्योगका ३६, बालयौन दुरुपयोगका १२, अपाकृतिक मैथुन एक र वैवाहिक जबरजस्ती करणीको एक गरि १०८ यौनजन्य मुद्धा दर्ता भएको अदालतका रजिष्टार सञ्जिव पोखरेलले जानकारी दिए । दर्ता भएका मध्ये अधिकांस मुद्दा फछ्र्यौट भईसकेको रजिष्टार पोखरेलले बताए । यौनजन्य पछि सबैभन्दा धेरै हत्यासँग सम्बन्धित मुद्दा अदालतमा दर्ता हुन आएका छन् ।
कर्तव्य ज्यान तथा ज्यान सम्बन्धि कसुरका ३२ र ज्यानमार्ने उद्योग अन्तर्गतका २१ गरि ५३ हत्यासँग सम्बन्धीत मुद्दा दर्ता भएको रजिष्टार पोखरेलको भनाई छ । यस्तै डाका चोरीका २४, बहु–विवाहका १२, सवारी ज्यान तथा अंग भंगका १२, अपराधिक उपद्रोहका आठ, आत्महत्या दुरुत्साहनका तीन, लागु औषधका तीन र बाल विज्याँईका दुई मुद्दा आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका छन् ।
अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मानव बेचबिखन सम्बन्धि एक, नागरिकता सम्बन्धि कसुर दुई, अभद्र व्यवहारका तीन, जातिय छुवाछुतको एक, कुटपिट तथा अंगभंगको एक, ठगीको दुई, हातहतियार खरखजाना सम्बन्धि एक र अन्य ११ मुद्दा दर्ता भएका छन् । देवानी तथा दुनीयाबादी देवानीतर्फ सम्बन्ध विच्छेदका आठ, अंशदर्ता/चलनका १२, लिखत वदर/दर्ता बदरका चार, जालसाजी तीन र अन्य १६ मुद्दा दर्ता भएको रजिष्टार पोखरेलले बताए ।
पोखरेलका अनुसार रिटतर्फ परमादेश नौं, निषेधाज्ञा नौं र उत्प्रेषणका ३५ मुद्दा थिए । जिम्मेवारी सरेका ८५ र नयाँ दर्ता भएका २६४ गरि जम्मा ३४९ मध्ये २३० मुद्दा फछ्र्यौट भएका छन् भने ११९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उच्च अदालत विराटनगर अस्थायी ईजलास ओखलढुंगाले जनाएको छ ।
मेलमिलापको सँख्या न्युन छ । मेलमिलाप हुनसक्ने ४२ मुद्दा मध्ये १२ वटामा मेलमिलापको आदेश भएकोमा दुई वटामा मात्र मेलमिलाप भएको छ । एउटा प्रक्रियामा रहेको र नौ वटा मेलमिलाप हुन नसकेको अदालतले जनाएको छ ।
प्रतिक्रिया