ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटारमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत सेवा लिनेको संख्या बढेको छ । ओसीएमसी मार्फत अधिकांश लैंगिक हिंसामा पीडितहरुलाई सेवा दिने गरिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा केन्द्र मार्फत ४०० जना लैंगिक हिंसामा परेका महिला पुरुषले सेवा लिएको केन्द्रकी घटना व्यवस्थापक सजना राईले बताईन् । सेवा लिन आउनेहरु मध्ये पुरुषको तुलनामा महिलाहरुको संख्या बढि रहेको राईले जानकारी दिईन् ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ३७९ महिला र २१ जना लैंगिक हिंसामा परेकाले यस कार्यालय मार्फत सेवा लिएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा यस केन्द्र मार्फत ३४४ जनाले सेवा लिएको कार्यालयले जनाएको छ ।
केन्द्रले लैंगिक हिंसा पीडितलाई निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने गर्दछ । घरेलु हिंसा, शारीरिक चोटपटक तथा मानसिक यातना र यौनजन्य हिंसाबाट पीडित महिला बढी मात्रामा उपचार र परामर्श सेवा लिन ओसीएमसीमा आउने गरेको राईले जानकारी दिईन् ।
घटना व्यवस्थापक राईका अनुसार ग्रामीण क्षेत्रका पीडित महिलाहरुको सेवामा पहुँच बढ्न थालेको छ । केन्द्रबाट प्रवाह हुने उपचार, परामर्श सेवाले न्यायको लागि कानूनी बाटो पहिल्याउन समेत पीडितलाई सहज भएका भएको राईले बताईन् । एक पटक सेवा लिएकाहरुको निरन्तर फलोअप गर्ने गरिएको राईको भनाई छ ।
विवरण अनुसार २५४ जना मानसिक दुव्र्यवहार तथा भावनात्मक दुव्र्यवहारमा परेका, बलात्कार घटना पीडित १९, यौनजन्य दुव्र्यवहारका १३, शारीरिक दुव्र्यवहारका ८५, स्रोत साधन तथा अधिकारबाट बञ्चित गराइएका ८५ र जबरजस्ती विवाह तथा बालविवाह पीडित केन्द्रको सम्पर्कमा आएका थिए ।
प्रतिक्रिया