महिला कैदीबन्दीका लागि छुट्टै कारागार भवन

महिला कैदीबन्दीका लागि छुट्टै कारागार भवन



ओखलढुंगा । जिल्ला कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै नयाँ भवन निर्माण गरिएको छ । १५ जना क्षमताको सुविधा सम्पन्न कारागार भवन निर्माण गरिएको हो ।
गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभाग बाट विनियोजन भएको ५० लाख ४५ हजार ७१३ रुपैयाँ ४५ पैसा बजेटले महिला कैदीबन्दीका लागि नयाँ पक्की भवन निर्माण भएको जिल्ला कारागार कार्यालयका निमित्त जेलर नरेन्द्रलाल कर्णले बताए ।
उक्त भवनमा पुस्तकालय, भान्सा कोठा र शौचालय सहितको सुविधा रहेको कर्णको भनाई छ । नव निर्मित भवन वरिपरि सुरक्षा पर्खाल लगाउने काम भईरहेकाले सकिए पछि महिला कैदीबन्दीहरुलाई उक्त नयाँ कारागार भवनमा स्थान्तरण गरिने जेलर कर्णले जानकारी दिए । हाल महिला कैदीबन्दीहरु राखिएको कारगार भवन जिर्ण भएको छ ।
तीन जना कैदी र दुई महिला थुनुवा छन् । महिला पुरुष गरि मात्र ३० जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ६९ जना पुरुष पाँच जना महिला कैदीबन्दी राखिएको छ । महिला कैदीबन्दीलाई नयाँ कारागार भवनमा स्थान्तरण गरेपछी पुरानो भवनमा पुरुष कैदीबन्दीलाई राखिने कार्यालयले जनाएको छ ।