ओखलढुंगा । प्रदेशको नाम कोशी राखिएको विरोधमा शनिबार पहिचान पक्षधरहरुले सदरमुकाममा बृहत् प्रदर्शन गरेका छन् । विभिन्न पहिचान पक्षधर संस्थाहरुको संयुक्त आयोजनामा सहभागीहरुले सदरमकामका विभिन्न बजारमा मोटरसाइकल ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनसँगै किरात राई यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईको संयोजकत्वमा १५१ सदस्यीय संयुक्त संघर्ष समितिसमेत घोषणा गरिएको छ । संघर्ष समितिले कोशी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरणको नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । मोटरसाइकल सहित प्रदर्शनीमा उत्रिएका युवाहरुले टाउकोमा ‘नो कोशी’ को कालो फेटा र सेतो टिर्सटमा पहिचानका लागि युवा लेखिएको टिसर्ट लगाएका थिए ।
प्रदर्शनपश्चात् ताराहाङ राईको नेतृत्वमा गठित युवा दस्तालाई परेडसमेत गराइएको संयुक्त संघर्ष समितिले जनाएको छ । विरोध कार्यक्रममा पहिचानवादी नेताहरु गोपाल किराती, आङकाजी शेर्पा, गोविन्द छन्त्याल लगायत केन्द्रिय, प्रदेश साथै स्थानिय तहका नेता कार्यकर्ताहरुको सहभागिता थियो । यसका साथै पहिचान पक्षधरका कार्यकर्ताहरुले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको साईनबोर्डमा लेखिएको कोशी नाम मेटाएका छन् ।
प्रतिक्रिया