मुख्यमन्त्री कप सुरु : उद्घाटन खेलमा ओखलढुंगासँग सोलु र उदपुरसँग मोरङ पराजित

मुख्यमन्त्री कप सुरु : उद्घाटन खेलमा ओखलढुंगासँग सोलु र उदपुरसँग मोरङ पराजित

विजेताले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद एक लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्


भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा आज सोमबारबाट कोशी प्रदेश स्तरीय मुख्यमन्त्री कप नकआउट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटनमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु आउने भनिएकोमा मौसम खराबीका कारण आउन सकेनन् ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सांसद प्रदीप सुनुवार, अखिल नेपाल पुटबल संघ (एन्फा)का मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव हंशराज वाग्लेले संयुक्त रुपमा परेका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेशका सांसद सुनुवारले जिल्लामा प्रदेशस्तरीय प्रतियोगिता हुनु गौरवको बिषय बताए । अनेक चुनौतिका बाबजुत प्रतियोगिता भएको बताउँदै उनले खेल सफलतापुर्वक सम्पन्न गर्न सबै जिल्लाबासी एकजुट भएर लाग्न आग्रह गरे ।


कार्यक्रममा सांसद सुनुवारले कोशी प्रदेश सरकारले कुनै छलफल बिना नै बजेट ल्याएको भन्दै बजेट मान्य नहुँने बताए । बजेटका बारेमा पर्याप्त छलफल आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा (एन्फा)का मानार्थ बरिष्ठ उपाध्यक्ष राईले ओखलढुंगा सहित एन्फाको सदस्यमा हुन बाँकी जिल्लाहरुलाई सदस्यमा समावेश गर्न पहल आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लले प्रतियोगिता जिल्लाका खेलाडीका लागि महत्वपुर्ण अवसर र जिल्लाबासीको लागि गौरवको बिषय भएको जिकिर गरे ।

सिद्धिचरण नगरपालिका मेयर तेजेन्द्र खनालले खेलाडीले जिल्ला, राष्ट्र र देशलाई चिनाउने भएकाले खेलाडी र खेल क्षेत्रको विकासमा सबै जुट्न आवश्यक रहेकोमा जोड दिए ।

प्रतियोगिताको पहिलो दिन सोमबार दुई रोचक प्रतिस्पर्धा भएका छन् । पहिलो खेल ओखलढुंगा र सोलुखुम्बु बिच भएको थियो । खेलमा ओखलढुंगाले सोलुलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा ओखलढुंगाका सञ्जय गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगितामा सोलु बाहिरिएको छ ।

यस्तै आजै भएको दोस्रो खेलमा उदयपुरले मोरङलाई १–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो प्रतियोगितामा उदयपुरका सुनिल खड्का म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिताबाट मोरङ बाहिरिएको छ ।

भोली मंगलबार बिहान ८ बजेबाट धनकुटा र भोजपुर तथा दिउँसो सुनसरी र पाँचथर बिचको प्रतिपर्धा हुने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रबिन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगितामा ताप्लेजुङ बाहेक प्रदेशका सबै जिल्लाको सहभागिता छ ।


विजेताले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद एक लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ म्याचलाई नगद रु. ४ हजार प्रदान गरिने छ । यस्तै उत्कृष्ट गोल किपर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई नगद रु.पाँच हजार पाँच सयको साथमा मेडल र प्रमाणत्र प्रदान बोर्डले जनाएको छ । यस्तै म्यान अफ द सिरिजलाई नगद रु १० हजारको साथमा मेडल र प्रमाणत्र प्रदान गरिनेछ । प्रतियोगिता आगामी असार ९ गतेसम्म सञ्चालन हुने छ ।