ओखलढुंगामा ६ महिनामा २१ मानवअधिकार उल्लङ्घनका घटना : इन्सेक

ओखलढुंगामा ६ महिनामा २१ मानवअधिकार उल्लङ्घनका घटना : इन्सेक


भिजन समाचार
1.6k
Shares

ओखलढुंगामा विगत छ महिनाभित्र २१ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुंगाले बुधबार सार्वजनिक गरेको तथ्यांकमा सन् २०२३ को जनवरी १ देखि जुन १५ सम्म जिल्लामा २१ मानव अधिकार उल्लङ्घनका घटना हुँदा २२ जना पीडित भएका हुन् ।

इन्सेक ओखलढुंगाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि संकलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम गरेको थियो ।
जिल्लामा छ महिनाको अवधिमा बलात्कार तथा बलात्कार प्रयासका १० वटा र घरेलु हिंसाका ११ वटा घटना भएको तथ्यांक इन्सेक जिल्ला प्रतिनिधि सरस्वती बानियाले प्रस्तुत गरेकी थिइन् ।

इन्सेक ओखलढुंगाका अनुसार विगत छ महिनामा सिनपामा १० वटा, मोलुङ गाउँपालिकामा चार, खिजीदेम्बामा एक, मानेभञ्ज्याङमा दुई, सुनकोशीमा दुई र चिशंखुगढीमा दुई वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् ।

इन्सेकले गरेको समीक्षाका क्रममा जिल्लाका अन्य स्थानीय तह भन्दा सिद्धिचरण नगरपालिकामा महिलामाथि हुने घरेलु हिंसाका घटना बढी भएको पाइएको छ । नगरपालिकामा सात वटा घरेलु हिंसा र तीन वटा बलात्कारका घटनामा छन् ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बानियाले सबै भन्दा बढी घरेलु हिंसा र बालिकामाथि हुने बलात्कारका घटना जिल्लामा धेरै रहेको बताइकी थिइन् ।

जिल्लामा बलात्कारका घटनामा ५ वर्षीया बालिका देखि ६४ वर्षीया महिलासम्म पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले इन्सेकले अभिलेख भए जस्तै अन्य हिंसाजन्य घटना न्यूनीकरणका लागि प्रहरीले सचेतनामा जोड दिएको बताए ।

सचेतनाका कार्यक्रमले केहि हदसम्म हिंसाजन्य घटना न्यूनीकरण भएको उनको भनाई छ ।


कार्यक्रममा ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार नविन खनालले मानव अधिकार उल्लङ्घनका घटनामा छिटो र साँचो न्याय सम्पादन गर्न अदालत प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले पिडितलाई न्यायिक निकायसम्म पुर्याउन इन्सेक जस्तै अन्य सरोकारवाला निकायहरुले पनि भूमिका खेल्नुपर्ने बताए ।

सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सचेतनाको कमिका कारण अझै कतिपय हिंसाका घटना बाहिर आउन नसकेको पाईएकोले नगरपालिकाले पनि सचेतनाका कार्यक्रमलाई जोड दिने बताए ।

आफूहरुले पनि मानव अधिकारको क्षेत्रमा भूमिका खेलिरहेको र यसलाई अझै निरन्तरता दिदै इन्सेक जस्ता संस्थाहरुसँग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

समीक्षामा प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले समुदायस्तरमा कानुनी परामर्शका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् । पिडितको लागि पनि कानुनी परामर्श जरुरी रहेको पाईएकोले यस किसिमको कार्यक्रमलाई अघि बढाउन पहल गर्ने उल्लेख गरिन् ।

जिल्लामा इन्सेकले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै इन्सेक आफूहरुले निरन्तर समन्वय र सहकार्य गर्ने प्रजिअ कुमारीले प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा बोल्ने अधिकांशले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको प्रशंसा गरेका छन् ।
जिल्लामा यस बर्षको अर्धवार्षिक अवधिमा विगत भन्दा मानव अधिकार उल्लङ्घनका घटनामा केहि कमि आएको देखिएको छ । गत साल यहि अवधिमा ३० वटा मानव अधिकार उल्लङ्घनका घटना भएका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको अध्यक्षता तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, अदालतका श्रेस्तेदार, जिल्ला न्यायाधिवक्ता, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, मानव अधिकारकर्मी र पत्रकारलगायतको सभागिता रहेको थियो ।