ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले अनलाइनबाटै राजश्व उठाउन थालेको छ । वडा सचिवहरुलाई अभिमुखिकरण तालिम दिएर स्थानीय तहलाई प्राप्त हुने राजश्व अनलाइन मार्फत भुक्तानी गर्न सुरु गरेको हो ।
गाउँपालिकाले दश वटै वडाको राजश्व अनलाईन (सुत्र) मार्फत राजश्व संकलन गर्न थालिएको लेखा अधिकृत सुबास धमलाले बताए । वडा कार्यालय मार्फत संकलन हुँदै आएको सबै शिर्षकका राजश्व अब सिधै अनलाइन मार्फत संकलन गरिने व्यवस्था गरिएको छ । यसअघि रसिद काटेर राजश्व उठाउने चलन थियो । अब अनलाइन (सुत्र) मार्फत पालिकाले सोझै राजश्व संकलन गर्ने छ ।
अनलाइन सुत्र चलाउने र राजश्व दाखिला गर्ने विधिबारे वडा सचिवहरुलाई सिकाईएको छ । आर्थिक ऐनमा उल्लेख भएका शिर्षकहरुमा अनिवार्य वडा कार्यालयहरुले राजश्व उठाएर अनलाइन मार्फत पालिकामा दाखिला गर्नेछन् ।
गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै कम रहेकाले वृद्धि गर्न राजश्व संकलन कार्यलाई कढाईकासाथ लागू गर्ने नीति लिएको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीको भनाई छ । आन्तररिक स्रोत पर्याप्त नहँुदा प्रभावकारी काम गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत कार्कीले बताए ।
सुनकोशीमा अहिले वार्षिक करिब २० देखि २५ लाखको हाराहारीमा मात्र राजश्व संकलन हुने गरेको छ ।
प्रतिक्रिया