ओखलढुङ्गा । बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्ष कैद फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतले एक १२ वर्षिय नाबालिकालाई बलात्कार गर्ने चार जनालाई १८ वर्षको कैद फैसला गरेको हो । जिल्ला न्यायधिस टिकाराम आचार्यको ईजलासले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षिय फडिन्द्र प्रसाद दाहाल, सोहि वडाका ३० वर्षिय डम्बर बहादुर भुलेल, ३७ वर्षिय केबल भुजेल र नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धिचरण नगरपालिका–२ का ४४ वर्षिय पुर्ण प्रसाद फुयाललाई १८ वर्षको कैद फैसला गरेको हो ।
फुयाललाई एक लाख ५० हजार क्षतिपुर्ति र अन्य तीन जनालाई ५० हजारका दरले क्षतिपुर्ति सहित फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेस्तेदार नविन खनालले जानकारी दिए । संगै छ लाख जरिवाना भएको श्रेस्तेदार खनालले जानकारी दिए ।
२०७९ जेठ ३० गते बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उनिहरु विरुद्ध जाहेरी दिएका थिए । जाहेरीका आधारमा चारैजनालाई पक्राउ गरी प्रहरीले गत २०७९ असार २३ गते बलात्कार आरोपमा मुद्दा चलाएको थियो ।
पीडक चार जनाले फरक फरक समय र स्थानमा उक्त बालिकालाई बलात्कार गरेको प्रहरीको अनुसन्धान बाट खुलेको थियो । डम्बर बहादुर भुजेलले २०७९ जेठ १६ गते, केबल भुजेलले वैशाख २७ गते, फडिन्द्र प्रसाद दाहालले जेठ ६ गते र पुर्णप्रसाद फुयालले जेठ २८ गते उक्त बालिकालाई जबरजस्ती करणी गरेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्त मध्येका ८० वर्षिय दाहालले जेष्ठ नागरिक ऐन अनुसार सजाय छुट माग गरेको भए पनि अन्य अभियुक्त सरह उनलाई पनि कैद सजाय तोकिएको हो ।
प्रतिक्रिया