ओखलढुंगा । ओखलढुंगामा खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने उद्देश्यले गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउन थालिएको छ । जिल्लामा असोज १५ गतेदेखि औपचारिक रूपमा खोप अभियान सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत जिल्लाभरका करिब ५१ हजार गाईभैँसीलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । खोरेत रोगको संक्रमण तथा जोखिम न्यूनीकरण गर्दै पशुधनको सुरक्षा गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पशु सेवा केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईले बताए ।
उनका अनुसार खोरेत रोग महामारीका रूपमा फैलिन सक्ने भएकाले यसको नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो । खोरेत रोग हावाको माध्यमबाट समेत सर्न सक्ने भएकाले एक स्थानमा संक्रमण देखिएमा अन्य क्षेत्रमा समेत तीव्र रूपमा फैलिन सक्ने जोखिम रहने उनको भनाई छ ।
खोरेत रोगका कारण पशुको दूध तथा मासु उत्पादन घट्नुका साथै कृषकले आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेको भट्टराईले बताए । रोगका कारण पशुधनमा हुने क्षतिले कृषकको आम्दानीमा समेत प्रत्यक्ष असर पार्ने उनको भनाइ छ ।
खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि नियमित खोप अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको प्रमुख भट्टराईले बताएका छन् ।

प्रतिक्रिया