रमाइलोडाँडा र हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन

भिजन समाचार
30
Shares

ओखलढुंगा । चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने समस्या तत्काल सम्बोधन गर्न ओखलढुंगाका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडा र मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

चाडपर्वका समयमा जिल्लामा सवारीसाधन तथा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सहजता र सुरक्षित यात्राका लागि सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सहायता कक्षबाट यात्रुले भोगेका समस्या, गुनासा तथा यातायातसँग सम्बन्धित विषयमा तत्काल समन्वय र आवश्यक सहजीकरण गरिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी सहायक निरीक्षक अनिश खड्काले चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने लगायतका गतिविधि हुन सक्ने भएकाले त्यस्ता समस्या न्यूनीकरण गर्न सहायता कक्ष सञ्चालन गरिएको बताए ।

उनले जिल्लाका विभिन्न स्थान हुँदै भित्रिने तथा बाहिरिने सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई कुनै समस्या परे तत्काल सहायता कक्षमा जानकारी गराउन आग्रह गरे ।

तोकिएको दररेटभन्दा बढी भाडा असुली भएमा, यात्राका क्रममा सामान हराएमा वा सवारीसाधनमै छुटेमा पनि यात्रुले सहायता कक्षमा खबर गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । टिकट बुकिङ गरिसकेको अवस्थामा आफूले बुकिङ गरेको सवारी छुटेर यात्रु अलपत्र परेमा समेत सहायता कक्षमार्फत समस्या समाधानका लागि पहल गरिनेछ ।

त्यस्तै, यात्राका क्रममा बहुमूल्य सामान चोरी, लुटपाट वा हराएमा, कुनै व्यक्तिबाट दुर्व्यवहार भएमा तथा महिलामाथि यौनजन्य दुर्व्यवहार भएमा समेत तत्काल जानकारी गराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वमा सवारीसाधनको चापसँगै हुन सक्ने दुर्घटना, यात्रु ठगी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले सवारी जाँच तथा निगरानीलाई समेत बढाउने जनाएको छ ।