कांग्रेस महाधिवेशन : मतदानमार्फत मानेभञ्ज्याङ सभापति चुनिँदै

भिजन समाचार
176
Shares

ओखलढुंगा । नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका कार्यसमितिको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मानेभञ्ज्याङमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

मानेभञ्ज्याङ गाउँपालिका कार्यसमितिको सभापति पदका लागि विष्णु गौतम र हुकुमसिंह राई नेतृत्वका दुई समूह चुनावी प्रतिस्पर्धामा छन् । दुवै पक्षले आफ्नो प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली कांग्रेस ओखलढुंगाका आठ स्थानीय तहमध्ये सात पालिकामा नेतृत्व सर्वसम्मत चयन भइसकेको छ । मानेभञ्ज्याङमा भने नेतृत्वका आकांक्षीबीच सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको हो ।

निर्वाचन अधिकृत गुरुप्रसाद दाहालका अनुसार अधिवेशनमा २२२ जना प्रतिनिधि सहभागी छन् । प्रतिनिधिले मतदानमार्फत गाउँपालिका कार्यसमितिको नेतृत्व चयन गर्नेछन् ।

निर्वाचन अधिकृत दाहालका अनुसार मतदान प्रक्रिया अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतपरिणामका आधारमा मानेभञ्ज्याङ गाउँपालिका कांग्रेसको नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

मानेभञ्ज्याङको निर्वाचनलाई जिल्लाभरका कांग्रेस कार्यकर्ताले चासोका साथ हेरेका छन् । जिल्लाका अन्य पालिकामा सर्वसम्मत नेतृत्व चयन भए पनि मानेभञ्ज्याङमा भने दुई समूहबीच प्रतिस्पर्धा भएपछि निर्वाचनबाट नेतृत्व छानिन लागेको हो । दुई खेमाका नेताहरुकाे प्रतिष्ठाकाे लडाईका रुपमा मानेभञ्ज्याङको निर्वाचनलाई बुझिएकाे छ ।