आयु मोलुङ हाइड्रोसँग प्रभावित क्षेत्रको विकास माग

भिजन समाचार
236
Shares

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–६ र ७ का स्थानीयले आयु मोलुङ हाइड्रोपावर कम्पनीसँग आयोजना प्रभावित क्षेत्रमा न्यायोचित विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन् ।

आयु मोलुङ हाइड्रो समन्वय तथा नागरिक सरोकार समितिले मोलुङ गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै आयोजना सञ्चालन तथा निर्माणका क्रममा प्रभावित क्षेत्रका नागरिकले अपेक्षा अनुसार विकासको अनुभूति गर्न नसकेको जनाएका छन् ।

समितिले आयोजना नजिकका सडक तथा पुल निर्माण, सडक स्तरोन्नति, सुरक्षित खानेपानी, विद्यालय तथा स्वास्थ्य पूर्वाधार, स्थानीय रोजगारी र सीप विकास तथा वातावरण संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउन माग गरेको छ । स्थानीयसँग पर्याप्त सम्झौता तथा सहमति नगरी आयोजना सञ्चालन गरिएको समितिको दाबी छ ।

यसअघि गत साउन १५ गते कम्पनीलाई सामाजिक उत्तरदायित्व कार्यान्वयनसम्बन्धी मागपत्र बुझाए पनि माग सम्बोधन नभएको समितिले जनाएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको रकम प्रभावित वडामा न्यायोचित रूपमा वितरण नभएको आरोपसमेत समितिले लगाएको छ ।

समितिले गाउँपालिका र वडा जनप्रतिनिधिले आयोजना र प्रभावित नागरिकबीच प्रभावकारी समन्वय गर्न नसकेको भन्दै तत्काल कम्पनी, गाउँपालिका, वडा प्रतिनिधि र समितिबीच औपचारिक बैठक बोलाउन माग गरेको छ । बैठकबाट लिखित सम्झौता, निर्णय, प्रतिबद्धता र कार्यान्वयनको समयतालिका सार्वजनिक गर्नुपर्ने समितिको माग छ ।

जलविद्युत आयोजना विरोधी नभएको स्पष्ट पार्दै समितिले स्थानीय स्रोत–साधनको उपयोगबाट हुने विकासमा प्रभावित नागरिकको सम्मानजनक सहभागिता र न्यायोचित प्रतिफल सुनिश्चित हुनुपर्ने जनाएको छ । माग बेवास्ता गरिए प्रचलित कानुन र शान्तिपूर्ण प्रक्रियाभित्र रहेर थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्न बाध्य हुने समितिका संयोजक कमल तामाङ मार्फत सार्वजनिक ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्थानियको ध्यानाकर्षणको बिषयमा छिट्टै सरोकारवालासँग छलफल गरेर माग सम्बोधन र समाधानको प्रक्रिया अघि बढाइने मोलुङ गाउँपालिका अधयक्ष उत्तम राईले बताए । ‘प्रभावित वडा ६ र ७ नम्बर वडाका नागरिकहरुले ध्यानाकर्षण गराएका छन् । त्यति धेरै ठुलो विवादको बिषय पनि हैन, हाइड्रोले सम्बोधन गर्नुपर्ने स्थानीयका मागका बिषयमा केही दिन भित्रै छलफलबाट यो बिषय टुङ्गो लाग्छ ।’ अध्यक्ष राईले भने ।