वर्षाले ओखलढुंगामा घर, सडक र विद्यालयमा क्षति

भिजन समाचार
0
Shares

ओखलढुंगा । केही दिनदेखि भइरहेको लगातार वर्षाका कारण ओखलढुंगामा घर, सडक र विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा चार घरमा क्षति पुगेको छ भने सडक र विद्यालय समेत प्रभावित भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान चम्पादेवी गाउँपालिका–५ पुरानो गाउँमा घरमाथिबाट पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ । पहिरोले स्थानीय बलबहादुर दमाई, पेशल दर्नाल र कुमार दर्जीको घरमा क्षति पुर्‍याएको हो । पहिरोका कारण घर जोखिमपूर्ण बनेपछि उनीहरू आफन्तको आश्रयमा बसेका छन् ।

यस्तै, सिद्धिचरण नगरपालिका–२ खनियाखर्कमा कृष्णप्रसाद भट्टराईको घरमा पनि माथिबाट माटोको ढिस्को खस्दा क्षति पुगेको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण असोज ९ गते साँझ मानेभञ्ज्याङ गाउँपालिका–३ उँबु जाने भित्री सडकमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक स्थानीय तहसँगको समन्वयमा खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शेखरकुमार साहले जानकारी दिए ।

यसैगरी, खिजीदेम्बा गाउँपालिकास्थित खिजीफलाटेको फूलमति माध्यमिक विद्यालयमा पनि पहिरो खसेर क्षति पुगेको छ । पहिरोले केही कक्षाकोठासहित विद्यालयका भौतिक संरचना र शैक्षिक सामग्रीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । विद्यालयमा भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेको छ । वर्षाजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।