असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्रशासनको आग्रह

भिजन समाचार
0
Shares

ओखलढुंगा । असोज ८ गते विहिबार देखि ११ गते आईतबारसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले ओखलढुंगामा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ६ गते जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार उक्त अवधिमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको प्रशासनले जनाएको हो ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले सरकारी कार्यालय, निकाय तथा स्थानीय तहलाई विपद्का समयमा आवश्यक पर्ने सवारीसाधन, डोजर, स्काभेटर तथा खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्न भनेको छ ।

यस्तै, अत्यावश्यक कामबाहेक टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।

आकस्मिक बाढीको जोखिम रहेका खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र नदी–खोला किनारका बासिन्दालाई विशेष चनाखो रहन प्रशासनले आग्रह गरेको छ । यस्तो समयमा खोला तथा नदीमा पौडी खेल्ने, माछा मार्ने तथा किनारमा अनावश्यक हिँडडुल नगर्नसमेत अनुरोध गरिएको प्रशासकीय अधिकृत मनोजकुमार मगरले बताए ।

बाढी, पहिरो वा डुबानको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग तत्काल समन्वय गर्न प्रशासनले आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत भनिएको छ ।

पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित स्थानमा राख्न र विद्यालयले विद्यार्थीको आवतजावतका क्रममा हुनसक्ने विपद्जन्य जोखिमप्रति उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

सबै स्थानीय तहले आफ्ना आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चुस्तदुरुस्त राखी हाई अलर्टमा राख्नसमेत प्रशासनले आग्रह गरेको छ ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

यसैगरी, नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिइरहन प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।