कांग्रेस ओखलढुंगाको पालिका अधिवेशन छ पालिकामा सम्पन्न

भिजन समाचार
0
Shares

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको पालिका अधिवेशन अन्तर्गत जिल्लाका आठ स्थानीय तहमध्ये छ वटा पालिकामा नेतृत्व चयन भएको छ । सम्पन्न भएका सबै पालिकामा नेतृत्व सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका प्रवक्ता प्रदीपकुमार बानियाँका अनुसार सिद्धिचरण नगरपालिका, मोलुङ, सुनकोशी, चिशंखुगढी, चम्पादेवी र खिजिदेम्बा गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।

सिद्धिचरण नगरपालिकाको सभापतिमा निबन्ध श्रेष्ठ चयन भएका छन् । यस्तै मोलुङ गाउँपालिकामा फणिन्द्र ढकाल, सुनकोशी गाउँपालिकामा विष्णु आले मगर, चिशंखुगढी गाउँपालिकामा रामचन्द्र कार्की, चम्पादेवी गाउँपालिकामा विष्णु पुलामी मगर र खिजिदेम्बा गाउँपालिकामा मानबहादुर महतरा नेतृत्वमा चयन भएका छन् ।

पालिकास्तरीय अधिवेशनबाट सभापतिसहित आवश्यक पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्ने प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ । बाँकी दुई स्थानीय तह लिखु र मानेभञ्ज्याङ गाउँपालिकामा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको प्रवक्ता बानियाँले जानकारी दिए ।

कांग्रेसको पालिका अधिवेशनअघि जिल्लाका विभिन्न वडामा अधिवेशन सम्पन्न भएको थियो । नेपाली कांग्रेस ओखलढुंगाको गगन थापा पक्षले वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्दै पालिका अधिवेशन अघि बढाएको जनाएको छ । अर्को पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ ।

जिल्लामा पार्टीको आन्तरिक संगठन निर्माण तथा अधिवेशन प्रक्रिया अघि बढेसँगै पालिका तहको नेतृत्व चयनलाई महत्वका साथ हेरिएको छ । बाँकी दुई पालिकामा पनि सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेकाले कांग्रेसको जिल्ला अधिवेशनसम्म आन्तरिक प्रतिस्पर्धा र सहमतिको प्रक्रिया थप अघि बढ्ने देखिएको छ ।