ओखलढुंगा । ओखलढुंगामा चालु आर्थिक वर्षमा भएका विपद्का घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । जिल्लामा भएका विपद्का घटना, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति र विपद्का समयमा मानव अधिकारको अवस्थाबारे आयोगले जानकारी लिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङको टोलीले जिल्लाको विपद्को अवस्थाबारे अनुगमन तथा सरोकारवालासँग छलफल गरेको छ । शाखा कार्यालयका मानव अधिकार अधिकृत मोहन काफ्ले सहितको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी पोखरेलले चालु आर्थिक वर्षको हालसम्म सिद्धिचरण नगरपालिका–५ निगालेमा गएको सुख्खा पहिरोका कारण ११ घर जोखिममा परेको जानकारी दिए । यस्तै, सदरमुकामस्थित हुलाकडाँडामा ट्रसबाट बनेको एउटा भवन भासिएको घटनाबाहेक यस अवधिमा ठूलो विपद्जन्य घटना नभएको उनले बताए ।
जोखिमयुक्त क्षेत्रका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, टेन्टलगायत आवश्यक सामग्री वितरण गर्ने तथा विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि नागरिकलाई सचेत गराउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
उनले रसुवामा आएको बाढीमा ओखलढुंगाका नागरिकसमेत बेपत्ता भएको विषयमा आयोगको ध्यानाकर्षण गराउँदै लामो समयसम्म सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई राहत वितरण तथा बिमा दाबी प्रक्रिया सहज बनाउन पहल गर्न आग्रह गरे ।
सुरक्षा निकायका प्रमुखहरूले विपद्का बेला तत्काल उद्धार तथा प्रतिकार्यमा खटिन आफूहरू सदैव तयार रहे पनि पर्याप्त स्रोतसाधनको अभाव चुनौतीका रूपमा रहेको बताएका थिए ।
आयोगको टोलीले विपद्को समयमा मात्र नभई अन्य अवस्थामा समेत मानव अधिकार संरक्षणमा ध्यान दिन सरोकारवालालाई आग्रह गरेको छ । विशेषगरी विपद्बाट प्रभावित नागरिकको सुरक्षा, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा मानव अधिकारको हनन् हुन नदिन आयोगले सचेत गराएको छ ।

प्रतिक्रिया