खोरेतविरुद्धको खोप अभियान चलाइने


ओखलढुंगा । ओखलढुंगामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि जिल्लामा खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको हो ।

अभियानलाई प्रभावकारी बनाउन सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाको आयोजनामा जिल्लास्तरीय प्रमुख सहजीकरण समिति बैठक बसेको छ । जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा बसेको बैठकमा खोपको महत्वबारे कृषकलाई सचेत गराउने तथा अभियानमा सबै सरोकारवालाको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईका अनुसार खोरेत रोगको जोखिम कम गर्न नियमित खोप, रोगसम्बन्धी जनचेतना र कृषकको सहभागिता बढाउनुपर्नेमा बैठकमा जोड दिइएको छ । सहभागी सरोकारवालाले कृषकलाई खोरेत रोग र खोपको महत्वबारे जानकारी गराउँदै अभियान सफल बनाउन आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्लामा असोज १५ गतेदेखि ५१ हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने अभियान औपचारिक रूपमा सुरु हुँदैछ । सिद्धिचरण नगरपालिकालगायत केही स्थानीय तहमा भने खोप कार्यक्रम सुरु भइसकेको केन्द्रले जनाएको छ ।

बैठकमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले प्रदेशमा सञ्चालन भइरहेको खोरेत रोग नियन्त्रण आयोजनासहित रोगको वर्तमान अवस्थाबारे जानकारी दिएका थिए ।

उनका अनुसार हावाको माध्यमबाट समेत सर्न सक्ने महामारीजन्य खोरेत रोगका कारण कृषकले दूध तथा मासुजन्य उत्पादनमा वर्षेनी ठूलो क्षति बेहोर्नुपरेको छ । नेपाल खोरेत रोग संक्रमणको जोखिमयुक्त क्षेत्रमा रहेकाले अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज अवस्था नरहेको उनले बताए ।

खोरेत रोग नियन्त्रणको चरणमा रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पाण्डेको भनाइ छ ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख भट्टराई, सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईसहित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता थियो ।