ओखलढुंगा । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले पाँच लाख कोरियन वन सहयोग गर्ने भएको छ ।
समाजको अनलाइन बैठकमार्फत भएको छलफलपछि संस्थाको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।
यस्तै, रसुवामा विभिन्न कामको सिलसिलामा पुगेका र बाढीका कारण मृत्यु तथा बेपत्ता भएका ओखलढुंगाका नागरिकको यकिन विवरण प्राप्त भएपछि थप सहयोग आवश्यक भए संस्थागत रूपमा आर्थिक सहयोग अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको समाजका अध्यक्ष निलकुमार राईले जानकारी दिए ।
विपद्को दुःखद् घडीमा प्रभावित तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै समाजले आवश्यक सहयोग र सहकार्यका लागि आफ्ना संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरिएको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया