ओखलढुंगामा विपद्का ९० घटना, दुई जनाको मृत्यु


ओखलढुंगा । आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका ९० वटा विपद्का घटना भएका छन् । विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार विपद्का घटनाबाट एक वर्षमा आठ करोड ७२ लाख ५४ हजार ७५० रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा आगलागी, बाढी–डुबान, पहिरो, हावाहुरी, चट्याङ, जनावर क्षति लगायतका घटना भएका हुन् ।

विपद्का कारण ३७ घर प्रभावित भएका छन् भने १३ घर विस्थापित भएका छन् । घरमा क्षति पुगेपछि केही परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यस्तै पाँच सरकारी कार्यालय, तीन विद्यालय र तीन गोठमा समेत क्षति पुगेको छ ।

विपद्का घटनामा १३ वटा पशुचौपाया र सात वटा पन्छी मरेका छन् । यस्तै ११ वटा वन, अन्य २५ संरचना तथा एउटा बसमा समेत क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहका अनुसार विपद्का घटनामा घाइते भएकाहरूलाई घटनाको प्रकृति र अवस्थाअनुसार उद्धार तथा उपचार गरिएको छ । विपद्का कारण ज्यान गुमाएका दुई जनाको मृत्युले मानवीय क्षतिसमेत भएको छ ।

ओखलढुंगामा वर्षायाममा बाढी तथा पहिरोको जोखिम बढी हुने गरेको छ । ग्रामीण सडक निर्माण र जिल्लाको भौगोलिक अवस्थाका कारण वर्षाको समयमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा बस्ती जोखिममा पर्ने समस्या दोहोरिँदै आएको छ । पहिरोका कारण सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ ।

त्यसैगरी, आगलागी पनि जिल्लामा विपद्को प्रमुख कारणका रूपमा देखिएको छ । घर तथा अन्य संरचनामा आगलागी हुँदा ठूलो धनमालको क्षति हुने गरेको छ । प्राकृतिक विपद्सँगै मानवीय लापरबाहीबाट हुने आगलागीले समेत विपद्बाट हुने क्षतिको मात्रा बढाउने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरीका अनुसार विपद्का घटना भएपछि स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीयको समन्वयमा उद्धार तथा राहतका काम अघि बढाउने गरिएको छ । जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, सचेतना र सुरक्षित स्थानको पहिचान गर्न सके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ ।