पर्यटकीय झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

भिजन समाचार
52
Shares

ओखलढुंगा । ओखलढुंगा सदरमुकामको हुलाकडाँडा र श्रष्टापार्क जोड्ने गरी निर्माण भइरहेको ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सदरमुकामलाई आसपासका क्षेत्रसँग जोड्नुका साथै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको पुलको मुख्य संरचनासहित अधिकांश काम सम्पन्न भइसकेको छ । अहिले बाँकी रहेका कामलाई तीव्रताका साथ अघि बढाइएको छ ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, पुल्चोक ललितपुरबाट पाँच करोड २९ लाख रुपैयाँको लागतमा ठेक्कामार्फत पुल निर्माण भइरहेको हो । पुल निर्माणका लागि आगामी पुस ९ गतेसम्मको समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले पाँच महिना अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको ठेकेदार प्रतिनिधि हर्क मल्लले जानकारी दिए ।

उनका अनुसार पुलको भारवहन क्षमता ११९ मेट्रिक टन रहेको छ । पुल निर्माण सम्पन्न भएपछि एकपटकमा ८५३ जना पदयात्रीले आवतजावत गर्न सक्नेछन् । निर्धारित समयभन्दा अगावै पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको मल्लले बताए ।

पुल निर्माण सम्पन्न भएपछि ओखलढुंगा सदरमुकाममा आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ । लामो झोलुङ्गे पुलबाट आसपासका प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले यसलाई पर्यटकीय पूर्वाधारका रूपमा समेत उपयोग गर्ने लक्ष्य राखिएको छ ।

पुलले स्थानीय बासिन्दाको आवतजावत सहज बनाउनुका साथै सदरमुकामको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विशेषगरी आन्तरिक पर्यटक आकर्षित गर्न सके पुल आसपासका क्षेत्रमा स्थानीय उत्पादन, होटल तथा अन्य व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुग्ने सरोकारवालाको भनाइ छ । पुलमा घुम्ने र फोटो खिच्न स्थानियहरु जान थालेका छन् ।

निर्माणस्थलमा बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाइएको र तोकिएको समयसीमा भन्दा अगावै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार प्रतिनिधि मल्लले बताए ।