ओखलढुंगा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगा शाखाले आफ्नो सातौँ वार्षिकोत्सव विद्यार्थीलाई सहयोग गरेर मनाएको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सिद्धिचरण नगरपालिका–११ स्थित अन्तर्राष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय, बितलवका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पानीका बोतल वितरण गरेको हो ।
शाखा कार्यालय प्रमुख बिना घिमिरेका अनुसार विद्यार्थीलाई कापी, कलम र पानी खाने बोतल वितरण गरिएको हो । व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायप्रति जिम्मेवार रहेको सन्देश दिन सहयोग कार्यक्रम आयोजना गरिएको उनले बताईन् ।
ओझेलमा परेको विद्यालयको पहिचान गरी सहयोग गरेको भन्दै विद्यालयकी प्रधानाध्यापक उर्मिला श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगा शाखाप्रति आभार व्यक्त गरिन् ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै सिद्धिचरण नगरपालिका–११ का वडा अध्यक्ष विनोद ताम्राकारले कम्पनीले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोडेर गरेको सहयोग प्रशंसनीय रहेको बताए ।
व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै कम्पनीले विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न सहयोग गरेको हो ।

प्रतिक्रिया