घरमै नागरिकता पाउँदा भदौरेकी इन्द्रमाया हर्षित

भिजन समाचार
36
Shares

ओखलढुंगा । शारीरिक रूपमा अशक्त भई जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थामा रहेकी एक महिलाले घरमै नेपाली नागरिकताको प्रतिलिपि पाएपछि खुसी व्यक्त गरेकी छन् ।

चिशंखुगढी गाउँपालिका–६ भदौरेकी ६९ वर्षीया इन्द्रमाया आलेलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उनको घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मनोजकुमार मगरका अनुसार कार्यालय सम्म आउन नसक्ने सेवाग्राहीलाई सहज, सरल र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यकता अनुसार घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको हो । विशेष परिस्थितिमा रहेका नागरिकलाई सेवाबाट वञ्चित हुन नदिन यस्तो अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।

घरमै नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि इन्द्रमाया आले तथा उनका परिवारले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलले नागरिकको सेवा नै प्रशासनको मुख्य दायित्व भएकाले अशक्त, वृद्ध तथा विशेष परिस्थितिमा रहेका नागरिकलाई आवश्यक सेवा घरदैलोमै उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने बताएका छन् ।