घरमा आगलागी : १५ पशुचौपाया मरे

भिजन समाचार
0
Shares

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–२ खनियाखर्कमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा १५ वटा पशुचौपाया जलेर मरेका छन् भने एउटा भैंसी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार साउन १० गते राति करिब १० बजे स्थानीय बालकुमार सन्यासीको ढुङ्गा–माटोको गारो र जस्ताको छानो भएको एकतले मतान घरमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट मतान घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री पनि जलेका छन् । त्यस्तै मतानमा बाँधिएका एउटा खसी, चार वटा बोका, दुई वटा पाठी र आठ वटा बाख्रा गरी १५ वटा पशुचौपायाको घटनास्थलमै मृत्यु भएको छ । आगोले एउटा भैंसी समेत जलेर घाइते भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । घटनामा भने कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।