ओखलढुंगामा नेकपाको नेतृत्व पुनर्गठन : अम्बिरबाबु गुरुङ जिल्ला इन्चार्ज

भिजन समाचार
248
Shares

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ओखलढुंगा जिल्ला संगठनको नेतृत्व पुनर्गठन गर्दै अम्बिरबाबु गुरुङलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

यसअघि नेकपा (एमाले) परित्याग गरेका गुरुङ गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाका तर्फबाट उम्मेदवार बनेका थिए । पार्टीले उनको राजनीतिक सक्रियता, संगठन निर्माणमा योगदान तथा जनपरिचालन क्षमतालाई मूल्याङ्कन गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको जनाएको छ ।

ओखलढुंगाका समकालीन नेतामध्ये गुरुङ संगठन विस्तार र परिचालनमा अग्रपंक्तिमा रहने नेताका रूपमा परिचित छन् । पार्टीले उनको नेतृत्वमा जिल्लामा संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

यसैगरी, पार्टीले रामकुमार कार्कीलाई जिल्ला संयोजक तथा मेखबहादुर खड्कालाई सह–संयोजकको जिम्मेवारी तोकेको छ ।

नयाँ जिम्मेवारीसँगै नेकपाले जिल्ला तहमा संगठन सुदृढीकरण, जनपरिचालन, पार्टीका राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनसम्पर्क विस्तार गर्न सम्बन्धित नेतृत्वलाई निर्देशन दिएको जनाएको छ ।

पार्टीको यो निर्णयसँगै ओखलढुंगामा नेकपाको संगठन विस्तार र राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।