ओखलढुंगामा तीन वर्षमा ५२३ जोडीको वैवाहिक सम्बन्ध अन्त्य

भिजन समाचार
160
Shares

ओखलढुंगा । जिल्लामा वैवाहिक सम्बन्ध टिकाउन चुनौती बढ्दै गएको देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा निरन्तर वृद्धि भइरहेको संकेत गरेको छ ।

जिल्ला अदालत ओखलढुंगाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म ५२३ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । अदालतमा दर्ता हुने देवानी मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दाले उल्लेख्य हिस्सा ओगट्दै जान थालेको छ ।

जिल्ला अदालतका सूचना अधिकारी केशव घिमिरेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी ४६० मुद्दामध्ये १४१ वटा सम्बन्ध विच्छेदका थिए । तीमध्ये १०२ मुद्दा फछ्र्योट भएका छन् भने ३९ मुद्दा अझै विचाराधीन छन् ।

यसअघि आर्थिक वर्ष २०८१/०८२ मा १८६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १४६ वटा फछ्र्योट भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा भने २९६ जोडी सम्बन्ध विच्छेदका लागि अदालत पुगेकामा २७५ जोडीको सम्बन्ध विच्छेद टुंगिएको थियो ।

अदालत स्रोतका अनुसार वैदेशिक रोजगारीका कारण लामो समयको दूरी, श्रीमान श्रीमती बीच बढ्दो असमझदारी, आर्थिक दबाब, बदलिँदो सामाजिक सोच तथा पारिवारिक सम्बन्धमा आएको परिवर्तन सम्बन्ध विच्छेद बढ्नुका प्रमुख कारणका रूपमा देखिएका छन् ।