ओखलढुंगामा चार हजार ५२४ जनाले नयाँ नागरिकता लिए

भिजन समाचार
18
Shares

ओखलढुंगा । जिल्लामा एक बर्षको अवधिमा चार हजार बढीले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८२/२०८३ मा चार हजार ५२४ जनाले नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेका तथ्यांक अनुसार सोही अवधिमा तीन हजार २३७ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् । यस्तै पाँच जनाले वैवाहिक अंगीकृत नागरिकता तथा छ जनाले कर्मचारी परिवारको नाताले नेपाली नागरिकता लिएका छन् । यसै अवधिमा जिल्लामा ११ जनालाई गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको छ भने ११ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।

कार्यालयले १०३ जना नाबालकलाई नाबालक परिचयपत्र वितरण गरेको छ भने ७५७ जनाको पुरानो नागरिकताको विवरण डिजिटल प्रणालीमा प्रविष्ट गरेका छन् भने नागरिक एपमार्फत सात हजार ८५६ जनाको नागरिकता विवरण अद्यावधिक गरिएको छ । राहदानी सेवातर्फ गत आर्थिक वर्षमा एक हजार ७५२ जनाले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि इन्रोलमेन्ट गराएका थिए । सोही अवधिमा एक हजार ९०४ जनाले राहदानी प्राप्त गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रतर्फ आठ हजार १४१ जनाले विवरण दर्ता गराएका छन् भने एक हजार ६८७ जनाले परिचयपत्र प्राप्त गरेका छन् । सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा ९६ लाख ९ हजार ५२९ रुपैयाँ राजस्व संकलन गरेको छ । साथै विपद्बाट प्रभावित नागरिकलाई करिब सात लाख बराबरको राहत वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका प्रशासनिक सेवालाई प्रविधिमैत्री, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने जनाएको छ ।