ओखलढुंगामा एक वर्षमा ५७ सवारी दुर्घटना, चारको मृत्यु, ६६ जना घाइते

भिजन समाचार
0
Shares

ओखलढुंगा । आर्थिक वर्ष २०८२/८३ मा ५७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार दुर्घटनामा १० जना गम्भीर र ५६ जना सामान्य घाइते भएका छन् । मृत्यु हुने चारै जना पुरुष हुन् ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । ३६ वटा मोटरसाइकल दुर्घटना हुँदा कार–जिप १६, ट्रक र टिप्पर छ–छ, अटो–टेम्पो चार, बस दुई र अन्य एक सवारी दुर्घटनामा परेका छन् । दुर्घटनाबाट ४७ लाख ५४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक भेषबहादुर थापाका अनुसार चालकको लापरवाही, सडकको दुरावस्था, मौसम, ट्राफिक नियमको उल्लंघन तथा मादक र लागुऔषध सेवनका कारण दुर्घटना हुने गरेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि ७४४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । ती कार्यक्रममा ११ हजार ६६ जना सहभागी भएका छन् । विद्यार्थी, नयाँ तथा व्यावसायिक चालक, सर्वसाधारण र यात्रुलाई लक्षित गरी ट्राफिक नियम, तीव्र गति, हेलमेट प्रयोग, मापसे–लापसे तथा सडक सुरक्षासम्बन्धी प्रशिक्षण र अन्तरक्रिया गरिएको थियो ।

यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार २६१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीबाट ३७ लाख २८ हजार २०३ रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा सबैभन्दा बढी कार, जिप तथा भ्यान परेका छन् । एक हजार ७३४ कार, जिप तथा भ्यानबाट १८ लाख ७९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ६८९ मोटरसाइकलबाट नौ लाख ३२ हजार १०२ रुपैयाँ, ५२४ ट्रकबाट पाँच लाख ७३ हजार १०१ रुपैयाँ र ११६ बसबाट एक लाख ४१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

ट्राफिक नियम उल्लंघन, आवश्यक कागजात नबोक्ने, सवारीको प्राविधिक अवस्था मापदण्डअनुसार नराख्ने, लेन तथा संकेतको पालना नगर्ने, क्षमताभन्दा बढी यात्रु वा सामान बोक्ने, तीव्र गति र मापसे लगायतका कसुरमा सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनका लागि नियमित सवारी जाँच, जनचेतना तथा ट्राफिक नियम कार्यान्वयनलाई थप कडाइ गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।