ओखलढुंगा । जिल्लामा साउनको पहिलो सातासम्म ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पर्याप्त सिँचाइ सुविधा नहुनु र गाउँघरमा जनशक्तिको अभाव हुँदा जिल्लामा अझै २४ प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको हो ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा यस वर्ष तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म दुई हजार ८९४ दशमलव ०८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यो कुल रोपाइँ हुने क्षेत्रफलको ७६ दशमलव १० प्रतिशत हो ।
अझै ९०८ दशमलव ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार अपेक्षाअनुसार अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नहुँदा र गाउँघरमा युवा जनशक्तिको अभाव हुँदा रोपाइँ प्रभावित भएको हो ।
अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकाले पर्याप्त वर्षा नहुँदा रोपाइँले गति लिन नसकेको उहाँले बताउनुभयो । मौसम अनुकूल भई नियमित वर्षा भए बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्रको अपेक्षा छ ।
गत वर्षको तुलनामा भने यस वर्ष रोपाइँ केही छिटो भएको छ । गत वर्ष साउन ४ गतेसम्म जिल्लामा ७४ दशमलव २५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको थियो ।

प्रतिक्रिया