लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट


ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ । अदालतले ३३१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा ३३३ वटा मुद्दा फछ्र्योट गरेको हो ।

अदालतले पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १५२ र नयाँ दर्ता भएका ३०८ गरी कुल ४६० वटा मुद्दा अदालतमा रहेका थिए । तीमध्ये ३३३ वटा मुद्दा फछ्र्योट गरिएको अदालतले जनाएको छ ।

अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीका अनुसार लक्ष्यभन्दा दुई वटा बढी मुद्दा फछ्र्योट गरिएको हो । कुल लगतका आधारमा भने अदालतले ७२ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।

फछ्र्योट हुन बाँकी १२७ मुद्दामध्ये ६ महिनाभित्रका ८२, ६ देखि १२ महिनाभित्रका २३ र १२ देखि १८ महिनाभित्रका २२ वटा मुद्दा रहेका छन् । १८ महिना नाघेका मुद्दा भने नरहेको अदालतले जनाएको छ ।

पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले आर्थिक वर्षभरिका न्यायिक गतिविधि, मुद्दा व्यवस्थापन र सेवा प्रवाहबारे जानकारी गराएको थियो ।