अपाङ्गतामैत्री सेवा विस्तारमा जोड

भिजन समाचार
0
Shares

ओखलढुंगा । अपाङ्गता भएका व्यक्तिका लागि कानुनले सुनिश्चित गरेका अधिकार कागजमै सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न ओखलढुंगाका सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् ।

ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास परियोजना (सिबिआइडी) द्वारा आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, न्यायिक क्षेत्र, सञ्चारकर्मी तथा अन्य सरोकारवालाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका रजिस्ट्रार विष्णु प्रसाद पाण्डे तथा अधिवक्ता मेघहरी आचार्यले अपाङ्गता भएका व्यक्तिका हक–अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था तथा न्यायिक अभ्यासबारे जानकारी गराएका थिए । उनीहरूले अपाङ्गता भएका नागरिकलाई कानुनअनुसार सेवा र सुविधा उपलब्ध गराउनु राज्यका सबै निकायको साझा जिम्मेवारी भएको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति ओखलढुंगाकी उपप्रमुख तारा कार्कीले सरकारी कार्यालय, सार्वजनिक भवन र सेवा प्रणालीलाई अपाङ्गतामैत्री बनाउने कार्यमा ढिलाइ गर्न नहुने बताइन् । उनले पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्म पहुँचमैत्री व्यवस्था अनिवार्य बनाउनुपर्नेमा जोड दिइन् ।

ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले अपाङ्गताको सवाललाई केवल सामाजिक संवेदनशीलतासँग मात्र नभई अधिकार र कानुनी दायित्वसँग जोडेर हेर्नुपर्ने बताए । सरोकारवाला निकायलाई जिम्मेवारीबोध गराउँदै अधिकार कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

सिबिआइडी परियोजनाका कार्यक्रम संयोजक तुलाराम कार्कीका अनुसार अपाङ्गता भएका व्यक्तिले कानुन अनुसार पाउनुपर्ने छुट, सुविधा र अवसर प्रभावकारी रूपमा उपलब्ध गराउन सम्बन्धित निकायबीच समन्वय, सहकार्य र उत्तरदायित्व अझ सुदृढ बनाउन आवश्यक छ ।