विद्यार्थीलाई सिर्जनात्मक र व्यवहारिक शिक्षामा जोड

भिजन समाचार
0
Shares

ओखलढुंगा । जिल्लाको सगरमाथा जनता माध्यमिक विद्यालय मा ‘विज्ञान चक्षु’ नामक भित्तेपात्रो प्रकाशन गरिएको छ । विद्यार्थीको बौद्धिक, सिर्जनात्मक तथा व्यवहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित भित्तेपात्रो शुक्रबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

भित्तेपात्रोमा विद्यार्थीद्वारा तयार गरिएका समाचार, लेख–रचना, जानकारीमूलक सामग्री तथा सिर्जनात्मक अभिव्यक्तिहरू समेटिएका छन् । विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले भित्तेपात्रोलाई विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा लेखन क्षमताको विकास गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको बताए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिका शिक्षा शाखा प्रमुख फणिन्द्र बहादुर कटवाल ले व्यवहारिक र सिर्जनात्मक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीको सिर्जनशील क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

भित्तेपत्रिका प्रकाशनका सल्लाहकार शिक्षक सोमनाथ पौडेलले पत्रिकालाई त्रैमासिक रूपमा प्रकाशन गर्ने योजना रहेको जानकारी दिए ।

यसैबीच विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा कक्षा ९ र १२ मा अध्ययनरत ९ समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा निशाना ढकाल नेतृत्वको समूह प्रथम, अश्लेशा श्रेष्ठ नेतृत्वको समूह द्वितीय, मन्दिरा श्रेष्ठ नेतृत्वको समूह तृतीय तथा किर्तिका मगर नेतृत्वको समूह सान्त्वना स्थान हासिल गर्न सफल भए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा विज्ञान, गणित तथा सामान्य ज्ञानसम्बन्धी प्रश्न समावेश गरिएको थियो ।