ओखलढुंगाको नलिडाँडामा नेपाली कागज उत्पादन सुरु

भिजन समाचार
0
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित नलिडाँडामा नेपाली कागज उत्पादन सुरु गरिएको छ । स्थानीय स्रोत–साधनको उपयोग गर्दै आयआर्जन, रोजगारी सिर्जना तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगबाट व्यावसायिक रूपमा नेपाली कागज उत्पादन थालिएको हो ।

नलिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अनुसार उद्योग स्थापना तथा सञ्चालनका लागि समितिको करिब ६ लाख रुपैयाँ र डिभिजन वन कार्यालय ओखलढुंगाको ५ लाख रुपैयाँ अनुदान गरी कुल ११ लाख रुपैयाँ लगानी गरिएको छ ।

समितिका अध्यक्ष आङबाबु शेर्पाले जिल्लामै गुणस्तरीय नेपाली कागज उत्पादन गरी बजारमा पु¥याउने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको बताए । उनका अनुसार उद्योगबाट नेपाली तथा जापानी प्रविधिमा आधारित दुई प्रकारका गुणस्तरीय कागज उत्पादन भइरहेको छ ।

स्थानीय वन क्षेत्रमा उपलब्ध कच्चा पदार्थको उपयोग गरी उत्पादन गरिने कागजको बजारीकरणका लागि समेत योजना बनाइएको समितिले जनाएको छ । उद्योग सञ्चालनसँगै स्थानीय स्रोतको सदुपयोग हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ ।

डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनाराज राईले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई उपयोग गरी आयमूलक कार्यक्रम सञ्चालन गर्न प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइएको बताए । यस्ता उद्योगले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ ।

हाल जिल्लाका सरकारी कार्यालय तथा विभिन्न संस्थाहरूमा प्रयोग हुने नेपाली कागज अधिकांश बाहिरी जिल्लाबाट आयात हुँदै आएको छ ।

यस्तो अवस्थामा स्थानीय स्तरमै उद्योग स्थापना भई उत्पादन सुरु हुनुले आयात प्रतिस्थापन, स्थानीय उत्पादनको प्रवद्र्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।